काठमाडौ – जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलभित्र रहेको प्राइड क्यासिनोमा भएको लुटपाट प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ परेकामा दावा सेट्टी र रणे भनिने रञ्जित खड्गी रहेका छन्।
उनीहरूलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो। परिसरका एसएसपी रमेश थापाले दर्ता भएको जाहेरीका आधारमा दुवैजनामाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए।
घटना २४ भदौमा भएको हो, जब उनीहरूले खुकुरी बोकेर क्यासिनोभित्र प्रवेश गरेको भिडियो सार्वजनिक भएको थियो। प्रहरीका अनुसार यही भिडियो र तथ्यका आधारमा उनीहरूविरुद्ध लुटपाटसम्बन्धी मुद्दा अघि बढाइएको छ। यस प्रकरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














