कैलालीबाट विभिन्न मुद्दामा अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना तोकिए पनि लामो समयदेखि फरार रहेका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा लागूऔषध मुद्दामा ९ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका-५ का २६ वर्षीय विराट रावल रहेका छन्।
त्यस्तै सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र ४ हजार रुपैयाँ जरिवाना तोकिएका घोडाघोडी नगरपालिका-१० पहलमानपुरका दीपक प्रसाद चौधरी र सोही मुद्दामा २० दिन कैद सजाय तथा ४ हजार रुपैयाँ जरिवाना तोकिएका लम्कीचुहा नगरपालिका-३ चिसापानीका विजय आचार्य पक्राउ परेका छन्।
सवारी ज्यान मुद्दामै २ महिना कैद सजाय र २ हजार रुपैयाँ जरिवाना तोकिएका भजनी नगरपालिका-१ कुडीका पंचराम डगौरा तथा १५ दिन कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने नमराज चापागाईंलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
यसैबीच कञ्चनपुरबाट पनि लागूऔषध मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। शुक्लाफाँटा नगरपालिका-४ का २४ वर्षीय दीपक बिष्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
बिष्टलाई जिल्ला अदालत कञ्चनपुरको यही जेठ २२ गतेको फैसलाले लागूऔषध खैरो हिरोइन मुद्दामा ५ वर्ष ११ महिना २८ दिन कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।














