बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बडीमालिका नगरपालिका-७ र ८ को सिमानामा पर्ने अनाई खोलामा निर्माण गरिएको पक्की पुल उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले एक कार्यक्रमबीच पुलको उद्घाटन गरेका हुन्।
ठेक्का सम्झौता भएको दुई वर्षभित्र निर्माण सम्पन्न भएसँगै अब सो सडकखण्डमा नियमित सवारी साधन सञ्चालन हुने भएको छ। गत असार मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्षायाममा सामग्री ढुवानीमा समस्या आएपछि काममा ढिलाइ भएको ठेकेदार कम्पनीले जनाएको छ।
उक्त पुल निर्माणका लागि २०८० मंसिर २९ गते ठेक्का सम्झौता भएको थियो। ५ करोड ३४ लाख १० हजार ९१८ रुपैयाँ लागतमा आईएस पावर अफ जेभी निर्माण कम्पनीले पुल निर्माणको जिम्मा लिएको हो। पुल भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको बजेटमार्फत निर्माण गरिएको भौतिक पूर्वाधार कार्यालय अछामले जानकारी दिएको छ।
स्थानीयवासीहरूले पुल निर्माणपछि वर्षायाममा हुने आवतजावतको समस्या समाधान हुने, सेवा–सुविधामा पहुँच बढ्ने तथा स्थानीय उत्पादन बजारसम्म सहज रूपमा पुग्ने अपेक्षा व्यक्त गरेका छन्।














