कैलालीबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ६ जना प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना ठहर गरी फरार रहेका प्रतिवादीहरूलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएका जोशीपुर गाउँपालिका-१ बस्ने २५ वर्षीय रबिन शाह र २५ वर्षीय छवि भन्ने छत्रराज पाठक रहेका छन्। त्यस्तै, सवारी ज्यान मुद्दामा १९ दिन कैद सजाय र ३२ हजार रुपैयाँ जरिवाना तोकिएका भजनी नगरपालिका-५ बस्ने २८ वर्षीय रुकेश डगौरा पनि पक्राउ परेका छन्।
यसैगरी भ्रष्टाचार मुद्दामा ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएका जोशीपुर गाउँपालिका-७ बस्ने ४५ वर्षीय रामचन्द्र ओझा, ओखेटापहार मुद्दामा १ महिना १९ दिन कैद सजाय तोकिएका भजनी नगरपालिका-८ बस्ने ३५ वर्षीय प्रशुराम चौधरी तथा वन मुद्दामा ५ महिना १९ दिन कैद सजाय र ६० हजार ६२४ रुपैयाँ जरिवाना तोकिएका घोडाघोडी नगरपालिका-४ बस्ने ६५ वर्षीय भैया चौधरी पक्राउ परेका छन्।
पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।














