जेनजी आन्दोलनपछिको विशेष राजनीतिक परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदैछ। नेपालका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ।
यस निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान हुँदैछ।
प्रत्यक्षतर्फ ६५ राजनीतिक दलले ६१ निर्वाचन चिह्नमार्फत प्रतिस्पर्धा गरिरहेका छन्। यस प्रणालीमा तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्।
समानुपातिकतर्फ भने एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी कुल तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगका अनुसार यसपटक ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्।
यसका साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ।
देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् भने १४३ अस्थायी मतदानस्थल तय गरिएको छ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना परिचालन गरिएको छ। त्यस्तै ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी बल खटिएका छन्।
राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना तथा निर्वाचन प्रहरी एक लाख ४९ हजार ९० जना परिचालन गरिएको छ।
निर्वाचन सम्पन्न गराउन दुई लाख १५ हजार कर्मचारी खटिएका छन्। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्याइसकेको जनाएको छ।
यसपटक ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन्।
रामचन्द्र पौडेल, रामसहायप्रसाद यादव, सुशीला कार्की, रामप्रसाद भण्डारी लगायतले उत्साहजनक रूपमा मतदानमा सहभागी हुन आह्वान गरेका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको भन्दै निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको उल्लेख गर्दै हरेक मतदाताको एक–एक मतले शासन, नीति र नेतृत्व निर्धारण गर्ने भएकाले मतदानको महत्त्व उच्च रहेको बताएका छन्।
उनले यस्तो महत्त्वपूर्ण अवसरमा सहभागी भएर आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न सम्पूर्ण मतदातासमक्ष अपिल गरेका छन्।












