जनकपुरधाम — जनकपुरमा ज्वाइँले घरायसी विवादका क्रममा आफ्नै ससुराको चक्कु प्रहार गरी हत्या गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद विमलको आज बिहान चक्कु प्रहारबाट हत्या भएको हो। प्रहरीले दिएको जानकारी अनुसार, विमलमाथि चक्कु प्रहार गर्ने व्यक्ति उनका ज्वाइँ, जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठ हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी घरायसी विवादका कारण बेचनले बिहान पौने १० बजे ससुरालाई चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारपछि गम्भीर घाइते भएका विमललाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। तर, साढे १० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
घटनापछि बेचन फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
मृतक बासुदेवप्रसाद विमल जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका पर्ने व्यक्ति हुन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।