भोजपुर — भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानिको बोन्थिताङमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ।
भोजपुर नगरपालिका–२ हेलौछा घर भएका ज्वाइँ राजेन्द्र राईले आफ्नै ससुरा, सासु, श्रीमती र सालोको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार, आक्रमणमा परी वेदनाथ गिरी, उनकी श्रीमती, छोरी मनिषा गिरी र छोरा सपन गिरीको ज्यान गएको हो।
गम्भीर घाइते अवस्थामा रहेका आक्रमणकारी राजेन्द्र राईलाई उपचारका लागि भोजपुर ल्याइँदै गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।