कैलाली – शहिद स्मृति माध्यमिक विद्यालय लम्कीचुहा–१ मा आज शुक्रबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरणीय सन्तुलन र हरियाली विस्तार गर्ने उद्देश्यले विद्यालय परिसर, खेलमैदान तथा वरिपरिका खाली ठाउँहरूमा करिब १०० बिरुवा रोपिएका हुन्। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुर्णप्रसाद जैशी, शिक्षक–शिक्षिका, कर्मचारी र कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो।
बिरुवाहरूमा विशेषगरी फलफूल, छायाँ दिने र औषधीय महत्व बोकेको जातहरू जस्तै पपुलर, बकाइनो, दालचिनी आदि – समावेश गरिएको शिक्षक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभयो। प्रधानाध्यापक जैशीले वृक्षारोपणले विद्यार्थीहरूमा प्रकृति र वातावरणप्रतिको चेतना विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। वातावरण प्रतिनिधि शिक्षिका कला रिमालले वृक्षहरूले कार्बन डाइअक्साइड घटाई शुद्ध हावाको प्रवाह बढाउने उल्लेख गर्नुभयो।

विद्यार्थीहरूले वातावरणप्रतिको चेतनामूलक नाराहरू बोकेर वृक्षारोपणलाई सजीव बनाएका थिए। विद्यालयले यस्ता कार्यक्रमले हरियाली विस्तारसहित सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले वृक्षहरूको संरक्षण जिम्मा विद्यार्थीहरूलाई दिइएको र आगामी वर्षहरूमा वृक्षारोपण अझ विस्तार गरिने जानकारी दिएको छ।