काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज दिउँसो २ बजे बस्दैछ। गत पुस महिनादेखि रोकिएको कार्यपालिका बैठक मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईबीचको विवादका कारण रोकिएको थियो।
करीब ६ महिनापछि मेयर बालेनले नै गुरागाईलाई स्वीकार गर्दै कार्यपालिका बैठक बोलाएका हुन्। नगरसभा बोलाएर आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीसँगै कार्यपालिका बैठक आह्वान गरिएको हो। बैठकअघि आज बिहान ११ बजे मेयरसहित बजेट स्रोत अनुमान समितिको बैठक पनि बस्ने कार्यक्रम रहेको छ।
गत पुस महिनादेखि बालेनले गुरागाईमाथि ‘भ्रष्टाचारमा संलग्न भएको’ आरोप लगाउँदै उनलाई कार्यालयमा हाजिर हुन रोक लगाएका थिए। विशेषतः काठमाडौं टावरको नक्सापास प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै बालेनले गुरागाईको सरुवा माग गर्दै सिंहदरबारमा पत्राचार समेत गरेका थिए।
तर संघीय सरकारले गुरागाईको सरुवा नगरेपछि गत चैत २१ मा उपमेयर सुनिता डंगोल, नेपाली कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरूको पहलमा गुरागाई महानगरमा पुनः हाजिर भएका थिए। त्यसपश्चात् मेयर बालेन कार्यपालिका बैठक र नगरसभा रोक्दै तीव्र असन्तुष्टि प्रकट गरेका थिए।
अब भने उनले गुरागाईलाई नै स्वीकार्दै बैठक अगाडि बढाउने तयारी गरेका छन्। यसलाई सहमतितर्फको पहिलो कदमका रूपमा हेरिएको छ। महानगरपालिकाको बजेट निर्माण प्रक्रिया अघि बढाउन बैठकले निर्णायक भूमिका खेल्ने अनुमान गरिएको छ।