चितवनको रत्ननगर नगरपालिका वडा नं. ७ मा एक बालकको शव फेला परेको छ। शुक्रबार बिहान करिब सवा पाँच बजे पडेरिया पुलबाट करिब २ किलोमिटर चित्रसारीतर्फको बाँसघारी क्षेत्रमा बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
फेला परेको शव रत्ननगर नगरपालिका–१५, माधवपुर निवासी १५ वर्षीय अनमोल लम्सालको भएको पुष्टि भएको छ। उनी बिहीबार दिउँसो करिब २ बजे मामा घर गएका बेला पौडी खेल्ने क्रममा बूढीराप्ती नदीमा बेपत्ता भएका थिए।
घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी कार्य चलाइएको थियो। शव फेला परेपछि पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। नदीमा पौडी खेल्ने क्रममै ज्यान गुमाउनु परेपछि स्थानीयमा शोक तथा चिन्ता व्यक्त गरिएको छ।