नेपाल प्रहरीले लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ, शङ्कर चेपाङ र काठमाडौं महाराजगञ्जका जीवन प्रजा तथा सुमन चेपाङ रहेका छन्।
पक्राउ परेकाहरूले कोटेश्वरस्थित सुननम चेपाङको डेरामा ४० किलोग्राम गाँजा लुकाइ राखी बिक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ। उनीहरूकै साथबाट नगद १ लाख २५ हजार रुपैयाँ समेत बरामद गरिएको छ।
यसैबीच, प्रहरीले चोरी तथा डाँका मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोकका अञ्जन तामाङ र काठमाडौं गोकर्णेश्वर–४ का सुरेश तामाङ रहेका छन्।
उनीहरूलाई २०८१ चैत २९ गते पोखराको अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक महिलाको घाँटीबाट दुई तोलाको सुनको सिक्री लुटेको आरोपमा पक्राउ गरिएको हो। दुवैलाई काठमाडौंको गोकर्णेश्वर क्षेत्रबाट पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।