कञ्चनपुर — कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित बनेका छन्। बिहीबार सुदूरपश्चिम प्रदेश ००१–९२९ नम्बरको बसले वनसाह निवासी ५५ वर्षीया द्रोपती भट्टलाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो।
मृतक भट्टको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयहरूले शुक्लाफाँटा नगरपालिका अन्तर्गतको कलुवार बजार क्षेत्रको महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन्। सडक अवरुद्ध हुँदा यात्रुहरू गन्तव्यमा पुग्न नसक्दा समस्यामा परेका छन् भने मालवाहक गाडीहरू समेत बाटोमै रोकिएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको छ। मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जनाइएको छ।
सडक खुलाउने प्रहरीको प्रयास जारी रहे पनि अहिलेसम्म स्थानीयवासी र प्रशासनबीच सहमति जुट्न नसकेको प्रहरीले जनाएको छ। स्थानीयहरूले क्षतिपूर्ति नपाएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।