चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक व्यक्तिको बाघको आक्रमणबाट मृत्यु भएको छ।
खैरहनी नगरपालिका–१३ गवै निवासी ६८ वर्षीय पदमबहादुर राना मगरलाई आज बिहान घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिएका छन्।
प्रहरीका अनुसार बिहान ७ बजे जंगलमा घाँस काट्न गएका राना मगरमाथि बाघले साथमै रहेका व्यक्तिहरूको सामुन्ने आक्रमण गरेको थियो। उनीहरूले तुरुन्तै प्रहरी र चितवन राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार खोजी गर्दा दिउँसो पौने ३ बजेतिर राना मगरको शव फेला परेको हो।
घटनास्थलमा प्रहरी र निकुञ्जको टोली पुगेर आवश्यक प्रक्रिया अघि बढाइएको छ।
यसअघि पनि चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा बाघको आक्रमणका घटना घट्दै आएका छन्, जसले मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणको चुनौतीलाई झनै गम्भीर बनाएको देखिन्छ।