बैतडी – बैतडीमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ ज १३७२ नम्बरको जीप दुर्घटना भएको हो।
दुर्घटनामा डिलासैनी गाउँपालिका–१ नगराउका २४ वर्षीय सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी टेकबहादुर जोराले जानकारी दिए। गम्भीर घाइते अवस्थाबाट उद्दार गरि पाटन प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएका उनीहरूको उपचारको क्रममा निधन भएको हो।
घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइतेहरूमा रामबहादुर राना (४२), कमला धामी (५१), राजेन्द्र बहादुर खत्री (२७), भागरथी खत्री (२१), एलिसा खत्री (२), र हेमन्त प्रसाद भट्ट (२५) रहेका छन्। तीमध्ये गम्भीर अवस्थामा रहेकी कमला धामी र राजेन्द्र खत्रीलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेका जीप करिब ७० मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने अझै खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।