बाँके – बर्दिया राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएकी एक महिलाको हात्तीको आक्रमणबाट ज्यान गएको छ।
मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीकी ४५ वर्षीया पूर्णिमा बुढा रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
प्रहरीका अनुसार बुढा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको सीमावर्ती क्षेत्रमा च्याउ संकलन गर्न गएकी थिइन्। हिजो बिहान करिब ९ बजेतिर निकुञ्जको जंगलमै हात्तीको समूहले आक्रमण गर्दा उनी घाइते भइ घटनास्थलमै ज्यान गएको हो।
घटनाका बेला साथमा रहेका अन्य दुई जना भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएको छ।
प्रहरी र निकुञ्ज प्रशासनले घटनास्थलको थप विवरण संकलन गरिरहेको जनाइएको छ।