डडेलधुरा जिल्ला आलीताल गाउँपालिका–१ फिन्नेगडाका ७० वर्षीय देवबहादुर बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको छ। साउन ७ गते साँझ आफ्नै खेतमा उम्रिएको जंगली च्याउ खाएपछि बिरामी परेका उनलाई आफन्तले दुई दिनपछि मात्रै अस्पताल पुर्याएका थिए।
विष शरीरभरि फैलिएको कारण गम्भीर अवस्थामा रहेका उनलाई साउन ९ गते डडेलधुरा अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। तर उपचारका क्रममा मंगलबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक धनी चन्दले जानकारी दिए।
प्रहरीले वर्षायाममा उम्रिने जंगली च्याउ नचिनीकन नखान सर्वसाधारणलाई आग्रह गरेको छ।