हमासको बन्धकमा परेका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि अमेरिका पुगेकी उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी रित्तो हात घर फर्किएका छन्। रिहाइको आशामा अमेरिका पुगेका उनीहरूलाई बन्धक विपिनको मृत्यु भएको खबर त्यहीँ रहँदा प्राप्त भएको थियो। सोमबार विपिनको मृत्यु भएको पुष्टि भए पनि उनीहरू बिहीबार मात्र घर फर्किएका हुन्। विपिनको शव इजरायलबाट नेपाल पठाउने प्रक्रिया सुरु गरिएको परिवारले जनाएको छ।
विपिनका दाइ किशोर जोशीका अनुसार काकी र बहिनी घर पुगेपछि शव पठाउने प्रक्रिया अघि बढ्ने भनिएको छ तर शव कहिले पुग्छ भन्ने स्पष्ट जानकारी आएको छैन। आमा र बहिनीले अमेरिकामा संयुक्त राष्ट्रसंघका महासचिवदेखि विभिन्न उच्च अधिकारीहरूसँग भेट गरेर विपिनको रिहाइका लागि आग्रह गरेका थिए। उनीहरू त्यसअघि इजरायल समेत पुगेका थिए र विपिनको रिहाइका लागि आयोजित ¥यालीमा सहभागी भएका थिए।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय अन्तर्गत ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत दुई वर्षअघि इजरायल पुगेका विपिन अक्टोबर ७, २०२३ मा हमासको आक्रमणका क्रममा किबुत्ज क्षेत्रमा बन्धक बनाइएका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने विपिनलाई हमासले अपहरण गरी लगेको थियो।
हमासले हालै विपिनको शव इजरायललाई हस्तान्तरण गरेपछि डिएनए परीक्षणमार्फत उनको मृत्यु पुष्टि गरिएको इजरायली अधिकारीहरूले जनाएका छन्। उक्त आक्रमणमा मारिने नेपालीहरूमा कैलाली, दार्चुला, बझाङ, धनुषा, सुनसरी, डोटी र सल्यानका विद्यार्थीहरू पनि परेका थिए। उनीहरू सबै ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन र कामका लागि इजरायल पुगेका थिए।
सेदोत नेगेभ क्षेत्रमा रहेका १७ जना नेपाली विद्यार्थीमध्ये अधिकांश सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको टीकापुर बहुमुखी क्याम्पसका विद्यार्थी रहेका थिए। कुल २६५ जना नेपाली विद्यार्थी उक्त कार्यक्रममार्फत इजरायल पुगेका थिए, जसमा ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका थिए। हाल विपिनको परिवार उनको शव नेपाल ल्याउने तयारीमा व्यस्त छ र उनीहरूको घरमा शोकको वातावरण छाएको छ।














