बैतडी — बैतडीको प्रसिद्ध धार्मिक स्थल मेलौली भगवती मन्दिरमा लाग्ने ऐतिहासिक ‘देहीजात’ यही कात्तिक १८ र १९ गते हुने भएको छ । हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने यस जात्रालाई ‘देहीजात’ भनेर चिनिन्छ ।
मेलौली नगरपालिका–१ मा अवस्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने यस भव्य मेला र पशुबलीका लागि टाढाटाढाबाट भक्तजनहरु आउने गरेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकले जानकारी दिनुभयो । उहाँका अनुसार सो जात्रामा राँगाको बलि दिने प्रचलन रहँदै आएको छ ।
‘देहीजात’को रूपमा परिचित यो मेला पशुबलीसहित भव्य रूपमा मनाइन्छ । भगवतीको दर्शन र मेला हेर्न सुदूरपश्चिम, कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँ श्रद्धालुहरू आउने गरेका छन् ।
त्यस्तै मेलामा व्यापार गर्न भारतका व्यापारीहरू पनि आउने गर्छन् । सुदूरपश्चिमको जनजीवन झल्किने दृश्य, इष्टमित्र तथा परिवारसँगको भेटघाट र स्थानीय लोकप्रिय खाना ‘माँडा’ यस मेलाको विशेष आकर्षण रहन्छ ।
मेलौली धार्मिक सेवा समितिका सचिव दशरथसिंह नायकका अनुसार जात्रामा सहभागी हुनेहरूले आफन्त र इष्टमित्रका लागि ‘माँडा’ लिएर जाने प्रचलन पनि रहँदै आएको छ । साथै मेलामा स्थानीय उत्पादनहरूको बिक्री पनि हुने गर्दछ ।














