जिल्ला प्रहरी कार्यालय कैलालीले विशेष अभियान सञ्चालन गर्दै एकै दिन ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्लासँगै मातहतका प्रहरी इकाइहरूले समन्वयमा सञ्चालन गरेको अभियानअन्तर्गत विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेर लुकीछिपी बसेका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा फेला पारी पक्राउ गरिएको हो। पक्राउ परेकालाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला अदालत कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले आगामी दिनमा पनि फरारहरूलाई पक्राउ गरी कानून कार्यान्वयनलाई अझ सुदृढ बनाइने जनाएको छ।









