राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा आफ्नो अडान यथावत रहेको जनाएको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले सो प्रकरणमा संसदीय छानबिन आयोग गठन गर्नुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग दोहोर्याएको हो। प्रवक्ता मनिष झाले बैठक निर्णय सार्वजनिक गर्दै संसद्मा भइरहेको प्रतिरोध जारी रहने स्पष्ट पारे।
त्यस्तै संघीय निजामती विधेयकमा भएको कुलिङ पिरियड सम्बन्धी गडबडीमा पनि रास्वपाले संसदीय छानबिन समिति गठनको माग गरेको छ। बैठक निर्णयमा भनिएको छ कानुन बनाउने विधायकी भूमिकामा आँच आउने गरी गरिएको छलछाममाथि छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय समिति आवश्यक छ।
रास्वपाले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्न छलफल अघि बढाएको जानकारी दिएको छ। प्राप्त सुझावको आधारमा आगामी आइतबार बस्ने सचिवालय बैठकमा उम्मेदवार छनोट कार्यविधि अनुमोदन गरिने बताइएको छ।
बैठकले सबै केन्द्रीय विभागलाई चलायमान बनाउन रिक्त पदहरू पूर्ति गर्न विभाग प्रमुखलाई निर्देशन दिने, असार मसान्तसम्मको कार्यसम्पादन प्रतिवेदन साउन ७ गतेभित्र बुझाउनुपर्ने निर्णय पनि गरेको छ।
पार्टी संगठन विभागमा प्रमिला भुसाल (चितवन), सुशील अधिकारी (दाङ) र मानकुमार लामा (चितवन) लाई सदस्य मनोनयन गरिएको छ। प्रदेश तहमा गठन हुन बाँकी विभागहरू असार मसान्तभित्र गठन गर्न विभाग प्रमुखलाई जिम्मेवारी तोकिएको प्रवक्ता झाको विज्ञप्तिमा उल्लेख छ।