काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने ११ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। आज एक सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न अन्तिम मौका दिइएको हो।
विभिन्न सरकारी निकायको सिफारिसका आधारमा ती कम्पनीहरूविरुद्ध कारबाही प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ। यसअघि ३० दिनको समय दिइएर पत्राचार गरिएको भए पनि ती कम्पनीहरूले कुनै प्रतिक्रिया नदिएपछि सार्वजनिक सूचना प्रकाशन गरिएको हो।
कार्यालयका अनुसार यो प्रक्रिया सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१(४क) अनुसार अघि बढाइएको हो। तोकिएको म्यादभित्र चित्तबुझ्दो स्पष्टीकरण नआएमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिने छ।
कालोसूचीमा परेपछि सम्बन्धित कम्पनीहरूले निश्चित अवधिसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन नपाउने कार्यालयले स्पष्ट पारेको छ।
