नुवाकोट — नुवाकोटस्थित त्रिशूली नदीमा बाढीले फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत सफलतापूर्वक उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिहरू नुवाकोटको विदुर नगरपालिका–१ लभडाँडा मिलन चौतारा निवासी ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीया पत्नी मंगली तामाङ हुन्।
सोमबार राति त्रिशूली बजार नजिक घाँस–दाउरा गर्न गएका बेला बाढीको जोखिममा परेपछि उनीहरू नजिकैको एक रुखमा चढेर ज्यान जोगाइरहेका थिए। सुरक्षाकर्मी र स्थानीयहरूले उद्धार प्रयास थाले पनि सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार कार्य अघि बढाइएको थियो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सुरुमा खटिएको सानो हेलिकप्टरले उद्धार गर्न नसकेपछि एमआई–१७ नामक ठूलो हेलिकप्टर प्रयोग गरिएको थियो। त्यसपछि उनीहरूलाई सफलतापूर्वक उद्धार गरी सुरक्षित स्थानमा राखिएको हो।
हाल दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको र थप आवश्यक सहयोगका लागि सम्बन्धित निकायले समन्वय गरिरहेको प्रहरीले जानकारी दिएको छ।