रसुवा — रसुवामा गएराति अविरल वर्षासँगै आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा आएको बाढीले ६ जना चिनियाँ नागरिकसहित १८ जनालाई बेपत्ता बनाएको छ भने ९ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
चिनियाँ भूभागमा भारी वर्षा भएपछि एक्कासि आएको बाढीले नेपाल–चीन नाका क्षेत्र तहस–नहस बनाएको हो। विशेषतः रसुवागढी क्षेत्र भएर जोडिएको मितेरी पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि चीनसँगको आवागमन पूर्णरूपमा अवरुद्ध भएको प्रहरीको भनाइ छ।
बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको र थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ। बाढीले स्थानीय संरचनाहरूमा पनि क्षति पुर्याएको बताइएको छ।
सुरक्षाका दृष्टिले सीमावर्ती क्षेत्रमा आवागमनमा रोक लगाइएको छ भने जोखिमयुक्त स्थानमा रहेका स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।