कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला गर्ने उद्देश्यले बाटो सफाइ र मर्मतको काम सुरु गरिएको छ । बर्खायाममा भएका खाल्डाखुल्डी पुर्ने, घाँसपात काट्ने तथा बाढीले भत्काएका काठे पुल मर्मत गर्ने कार्य भइरहेको संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।
तर निरन्तर वर्षाका कारण बाटोमा हिलो कम नभएको र घाँसे मैदान क्षेत्रका बाटोमा ठूलो क्षति पुगेकाले तत्काल सफारी सुरु गर्न नसकिने वाग्लेले बताए । उनका अनुसार अब दशैंपछि मात्र सफारी पुनः सञ्चालन गर्न सकिने देखिएको छ ।
५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान भएकाले पर्यटकको आकर्षणको केन्द्र मानिन्छ । दशैं–तिहारबीच घुमफिरको सिजन भएकाले त्यतिबेला सफारी खुलाउँदा पर्यटक भित्र्याउन सहज हुने निकुञ्ज प्रशासनको अपेक्षा छ ।














