बैतडी जिल्लाको गौरव मानिने ऐतिहासिक स्थल कुल्लेकोट संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ। सदरमुकाम बैतडीदेखि करिब पाँच किलोमिटर दक्षिण–पश्चिममा दशरथचन्द नगरपालिका–देवलहाटमा अवस्थित यो स्थल विगतमा दरबारसहितको प्रशासनिक तथा धार्मिक केन्द्रका रूपमा परिचित थियो।

हाल दरबार ध्वस्त भई खण्डहर मात्र बाँकी छ। अवशेषस्वरूप छरिएका इँटा, ढुङ्गा र अस्पष्ट शिलालेख देखिन्छन्। दशैं र चैतेदशैंमा यहाँ पूजा–आजा तथा बलिप्रथा जारी भए पनि संरक्षण र प्रचारप्रसार नहुँदा सम्पदा संकटमा परेको स्थानीयको गुनासो छ।

धार्मिक–ऐतिहासिक महत्व बोकेको यस क्षेत्रमा कालिका देवी मन्दिर, जगन्नाथ बाबा, नागार्जुन बाबा, मालिका दुर्गा भगवती, सहस्त्रलिङ्ग, लटैनाथ पञ्चदेव शिवधाम, सप्तदेवल शिवकुण्डलगायत स्थल रहेका कारण पर्यटकीय सम्भावना उच्च रहेको जानकारको भनाइ छ।

स्थानीयले राज्य र पालिकालाई कुल्लेकोटको संरक्षण, संवर्द्धन र जीर्णोद्धारका लागि तत्काल पहल गर्न आग्रह गरेका छन्।














