ओमानमा सुरु भएको आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट–एशिया–प्यासिफिक छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार राति सम्पन्न पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो।
पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो। ओपनर कुशल भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रनको अर्धशतकीय पारी खेले। दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए भने गुल्शन झाले ६ बलमा २० रन बनाउँदै अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेका थिए।
कुवेतका बलरमध्ये अनुदीप चेन्थामाराले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए भने नवीन राजले ४ ओभरमा ४० रन खर्चेर २ विकेट हात पारे। मोहम्मद असलम र अकिफ फारुकले पनि १–१ विकेट लिए।
नेपालको यो जीतले आगामी खेलका लागि मनोबल थपेको छ।













