रसुवा – प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी उच्चस्तरीय टोली भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्न मंगलबार रसुवा प्रस्थान गर्ने भएको छ।
प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रमेश लेखक, सुरक्षा निकायका प्रमुखहरू र सम्बन्धित मन्त्रालयका अधिकारीहरू पनि प्रभावित क्षेत्रको निरीक्षणमा सहभागी हुने छन्। गृहमन्त्री लेखकले रसुवामा ठूलो जनधनको क्षति भएको जानकारी दिँदै स्थलगत अवलोकनपछि तत्कालीन राहत, उद्धार र पुनर्निर्माणको निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्ने बताएका छन्।
भोटेकोशी नदीमा आएको बाढीका कारण नेपाल–चीन नाका जोड्ने प्रमुख मितेरी पुल बगाएको छ भने हालसम्म १८ जना व्यक्तिहरु बेपत्ता भएका छन्। बाढीले घर, संरचना र यातायात प्रणालीमा ठूलो क्षति पुर्याएको स्थानीय प्रशासनले जनाएको छ।
सरकारले उद्धार र राहत कार्यलाई तीव्र बनाउन सुरक्षा निकायहरूलाई सक्रिय बनाएको छ भने बेपत्ताको खोजी कार्य पनि जारी रहेको छ।