राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी विस्तारित बैठकलाई लिएर आन्तरिक असन्तुष्टि सार्वजनिक रूपमा देखिएको छ। लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारीले आफूलाई र अन्यलाई आमन्त्रित भनेर मात्रै बैठकमा बोलाइएको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन्।
अधिकारीले लेखेका छन् सन्दर्भ कार्तिक २१ र २२ शब्द चयन आमन्त्रित दमन सहभागीहरुलाई निर्णय प्रक्रियामा बन्देज। बेलैमा निर्णय सच्चाइयोस्। उनले आमन्त्रितहरूलाई निर्णय प्रक्रियाबाट बाहिर राख्नु अनुचित भएको टिप्पणी गर्दै चेतावनीको शैलीमा लेखेका छन् जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ जहाँ प्रतिरोध हुन्छ त्यहाँ विस्फोट हुन्छ।
अधिकारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धलाई सम्झाउँदै लेखेका छन् भाद्र २३ मा ओलीद्धारा दमन र जनताद्वारा प्रतिरोध, भाद्र २४ मा जनताबाट विस्फोट। उनले जोड दिएका छन् भाद्र २३ र २४ को क्रान्तिको माहोल गरम छ त्यो बेलामा कसैले वेद पढ्दैन।
रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक कार्तिक २१ र २२ गते चितवनमा बस्दैछ। यसअघि कार्तिक १४ र १५ मा बस्ने भनिएको बैठक शान्ति–सुरक्षासम्बन्धी कारण देखाउँदै सारिएको हो।
बैठक नजिकिँदै जाँदा सहभागी चयन र अधिकारका विषयमा पार्टीभित्र असन्तुष्टि बढ्दो छ। डा. तोसिमा कार्कीले सहभागीलाई भोटिङ अधिकार दिनुपर्ने सार्वजनिक माग गरेकी छन्। असन्तुष्ट पक्षले संस्थापन समूहले आफ्ना समर्थकलाई मात्रै प्रतिनिधि बनाएर बहुमत कायम गर्न खोजेको आरोप लगाएका छन्।
केन्द्रीय र प्रदेश तहका कतिपय नेताहरूले विस्तारित बैठकको परिभाषा नै अस्पष्ट रहेको बताउँदै आलोचना गरेका छन्। पूर्वसांसद अशोक चौधरी र नेता गणेश कार्कीले समेत बैठकमा सहभागी चयन र अधिकार वितरणबारे प्रश्न उठाएका छन्।
नेता कार्कीले भने विस्तारित बैठकलाई के परिभाषा दिने भन्ने स्पष्ट छैन। केन्द्रीय समिति र छानेका सदस्य मात्रै भनेर विस्तारित बैठक भन्न मिल्दैन। विधानले यस्तो स्वरूपलाई चिन्दैन।
रास्वपाभित्र बढ्दो असन्तुष्टि र नेताहरूका सार्वजनिक अभिव्यक्तिहरूले पार्टीभित्रको आन्तरिक मतभेद सतहमा आएको संकेत देखाएको छ।














